Sagun Khabar
भारतको बाटो भएर तिंकर पुगे सौका समुदाय 

दार्चुला –वैशाख तेस्रो साता सदरमुकाम खलङ्गाबाट कुन्चा हिँडेको सौका समुदाय एक सातापछि तिङ्कर पुगेको छ । नेपालबाट दार्चुलाको अति दुर्गम व्यास गाउँपालिका–१ को तिङ्कर र छाङरुगाउँसम्म पुग्न खासै बाटो नभएपछि कुन्चाका लागि भारतको बाटो हुँदै तिङ्कर पुगेको स्थानीयले बताएका छन् । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा उत्तरतर्फ रहेको तिङ्कर र छाङरुका मानिस कुन्चा सरेका हुन् ।

दार्चुलामा मात्रै बसोबास रहेको सौका समुदायमा बसाइँसराइ गर्नुलाई कुन्चा सर्नु भनिन्छ । सौका समुदायका मानिस हिउँदको छ महिना सदरमुकाम र गर्मीको छ महिना गाउँमा बस्ने गर्दछन् । 

गाउँमा बाक्लो हिमपात भएपछि तिङ्कर र छाङरुमा बस्दै आएका सौका समुदायका मानिस गत मङ्सिरको पहिलो साता सदरमुकाम खलङ्गा बसाइँ सरेका थिए । नेपालबाट बाटो नभएका कारण उनीहरू भारतीय प्रशासनको अनुमति लिएर तिङ्कर हिँडेको स्थानीय दानसिंह तिङ्करीले बताए । 

उनले काठमाडौँमा कालापानीको कुरा गर्दा सीमाका नागरिकलाई दुःख हुने गरेको बताए। सरकारले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनको भनाइ  छ । 

सीमामा रहेका भारतीय सुरक्षाकर्मीको डरका कारण स्थानीय सञ्चार माध्यममा खासै बोल्न नमान्ने गरेको पनि उनको भनाइ छ । धारचुलास्थित भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति दिएपछि छाङरु र तिङ्करगाउँमा बसोबास गर्दै आइरहेका सौका समुदायका नागरिक एक साता लामो पैदल यात्रा गरेर गाउँ पुगेका छन् । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत चैत ३० गते भौगोलिक विकटता र नेपालतर्फ पैदाल यात्रा गर्न सक्ने बाटोको अवस्था नरहेको भन्दै भारतीय बाटो प्रयोग गरेर छाङरु र तिङ्कर जाने नागरिकलाई अनुमति दिएर आवश्यक समन्वय र सहजीकरण गरिदिन धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्र पठाएपछि स्थानीयले बाटो प्रयोग अनुमति पाएका हुन् । 

सीमाका पहरेदारका रूपमा बसोबास गर्दै आएका नागरिकलाई आफ्नै भूमिबाट गाउँसम्म जाने वातावरण बनाउन दार्चुला–तिङ्कर सडक निर्माण युद्धस्तरमा गर्नुपर्ने व्यासका स्थानीय दीपक खातीको भनाइ छ । साथै उनले पनि सीमा समस्या सामाधानका लागि सरकारले भारतसँग कूटनीतिक माध्यममार्फत वार्ता गर्नुपर्नेमा जोड दिए। व्यास–१ को छाङरुगाउँमा १२५ र तिङ्करगाउँमा ७० परिवार सौका समुदायको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update