दार्चुला –दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले आत्महत्या अघि सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेखेका छन् ।
धामीले आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसैका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आफ्ना परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा “दुष्मनहरूको षड्यन्त्र” को शिकार भएको दाबी गरेका छन् ।
स्टाटसमा उनले विद्यालयमा आफूले गरेको कामहरूको लामो विवरण सार्वजनिक गर्दै १८ कोठे पक्की भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, हरित विद्यालय निर्माणदेखि विद्यार्थीलाई निःशुल्क पोशाक वितरणसम्मका काम आफ्नो नेतृत्वमा सम्पन्न भएको दाबी समेत गरेका छन् ।
धामीले केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीमाथि आफूलाई झुटो बलात्कार आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।
उनले लेखेका छन्,‘मेरो शैक्षिक इतिहास समाप्त पार्ने र स्वाभिमानमाथि गम्भीर चोट पु¥याउने काम भयो । मानसिक तनाव र डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएँ । ’आफ्ना दुई छोरा र श्रीमतीलाई सम्बोधन गर्दै धामीले भावुक सन्देश पनि छोडेका छन् । उनले आफ्ना छोराहरूलाई “मुटु दरो बनाउन” आग्रह गर्दै श्रीमतीलाई छोराहरूको विशेष ख्याल गर्न अनुरोध गरेका छन् ।
त्यस्तै उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्नसमेत माग गरेका छन् । आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न परिवारलाई आग्रह गरेका छन् ।
धामीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरू तथा सरकारलाई समेत सम्बोधन गर्दै ‘ठालुहरूको दबदबामा समाज परिवर्तन हुन नसक्ने’ टिप्पणी गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोपबारे अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए । प्रधानाध्यापक धामी सोमबार बिहान विद्यालयको निवासमा मृत फेला परेका हुन् । घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन भएको डिएसपी महतले बताए ।





