Sagun Khabar
दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्म हत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ 

दार्चुला –दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

व्यास गाउँपालिका–४ को  सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेवसिंह धामीले विद्यालयमै झुन्डिएर आत्महत्या गरेको घटनामा आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–१ का ३२ बर्षीय विक्रमसिंह कुँवर, महाकाली नगरपालिका–२ का ५२ बर्षीय दलिदत्त भट्ट, महाकाली नगरपालिका–५ का ४२ बर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ बर्षीय परमानन्द भट्ट, ३९ बर्षीय पदमराज भट्ट, ४३ बर्षीय नरेन्द्रदत्त भट्ट, ५९ बर्षीय हरिदत्त भट्ट तथा बैतडीको पाटन नगरपालिका–४ का ४० बर्षीय पुष्करराज भट्ट रहेका छन् ।

उनीहरुलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

पर्नेमा सोही विद्यालयका शिक्षक, स्थानीय नेता र निर्माण व्यवसायी रहेका छन् । प्रधानाध्यापक धामीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गरेका थिए ।

धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा पोलेका व्यक्तिहरूलाई नै प्रहरी पक्राउ गरेको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update