Sagun Khabar
बैतडीमा साउनको महिना सिन्का दिने चलन

बैतडी - बैतडीमा साउनको महिना सिन्का दिने चलन रहेको छ । साउनको महिना लावड थरका व्याक्तीले गाउँभरी सिन्का बाढ्ने चलन रहेको स्थानीय सागर लावडले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरू मध्ये विशेष गरी बैतडीमा रहेको सिन्का दिने अनोखो चलन  ऐतिहासिक र सांस्कृतिक रूपमा कुलदेवता तथा यज्ञपुजा संग जोडिएको पाइन्छ । सामाजिक परम्परा अनुसार सुदूरपश्चिमको जेठो चाड ओल्के पर्व (भाद्र सङ्क्रान्ति) सँग सिन्का दिने चलन प्रत्यक्ष रूपमा जोडिएको स्थानीय पदम भट्टले बताए । परापुर्वकालदेखि नै समाजमा कृषि र प्रकृतिका उपजहरू साटासाट गर्ने र सम्मान प्रकट गर्ने रीतिरिवाजका रूपमा सिन्का दिने चलन स्थापित भएको पाइन्छ।

भदौ महिनाबाट सुदूरपश्चिममा गौरा, कृष्णजन्माष्टमी, दसैँ जस्ता ठूला चाडपर्वहरूको शृङ्खला सुरु हुन्छ। चाडपर्वका बेला पूजाआजा र भोजभतेरमा दुना टपरी गाँस्न अनिवार्य मानिने सिन्का बाँस वा निङगालोको साना कसिङ्गर वा काँटीबाट बनाइएको हुन्छ । सुदुरपश्चिममा दुना टपरी सोह्र श्राद्ध ,पुजाआजा वा यज्ञ आदिमा अनिवार्य मानिने हुनाले दुना टपरी गाँस्न लावड थरका व्याक्तीले गाउँभरी बाँस ताछेर बनाएका सफा सिन्काका मुठाहरू उपहार दिदै छिमेकीहरूबाट  ओल्कोको रूपमा कर्कलाको भित्री पात (गाभा), हरियो सागपात, गहु , मकै वा दालचामल संगै भेटी स्वरुप पैसा लिने गर्दछन ।

बैतडीमा सिन्का दिने चलनलाई कुनै भौतिक मूल्यको व्यापार नभएर आदर र आत्मीयताको सञ्चारको रुपमा लिने गरिन्छ । लावड थरका व्याक्तीको साइनो निङ्गलाशैनी भगवति संग रहेकाले उनिहरु माताको उपहार स्वरुप गाउँभरी सिन्का बुझाएर भेटघाट गर्ने र त्यसको बदलामा खाद्यान्न मीठा परिकार संगै आशीर्वाद दिने र लिने परम्परा रहेको स्थानीय सागर लावडले बताए ।

बैतडीका स्थानीय बूढापाकाहरूका अनुसार, उहिले गाउँघरमा कचहरी बस्दा, साँध सिमाना मिलाउँदा वा सत्य धर्मको कसम खाँदा सांकेतिक रूपमा सिन्का भाँच्ने वा सिन्का दिने गरिन्थ्यो। जसले दुवै पक्षबिचको सम्झौता वा प्रतिबद्धता कहिल्यै नतोड्ने वचनबद्धतालाई जनाउँछ । सिन्का निर्माणका लागि निगालो, बाँस वा रैथाने वनस्पतिको प्रयोग गरिने हुनाले यसले स्थानीय सीप र प्रकृतिका स्रोतको दिगो उपयोग हुने गरेको स्थानीय भट्टले बताए ।

पछिल्लो समय प्लास्टिक तथा बजारिया प्लेटहरूको बढ्दो प्रयोग र आधुनिक जीवनशैलीका कारण परम्परागत दुना टपरी र सिन्का दिने चलनमा केही शिथिलता आएको स्थानीय भट्टको भनाइ रहेको छ। यद्यपि बैतडीका ग्रामीण भेगहरूमा भने अझै पनि आफ्नो मौलिक पहिचान जोगाउन साउन महिनामा सिन्का उपहार दिने चलन कायमै छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update