बैतडी - रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैतडीमा राष्ट्रिय शोक मनाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय बैतडीले भदौ २२ गते सोमबार साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको जनाएको छ। विपद्मा केही व्यक्ति अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीले दुःखद् घटनाप्रति समवेदना व्यक्त गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै भौतिक संरचनामा समेत व्यापक विनाश भएर , विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका र धेरैको ज्यान गएपछि देश नै शोकमग्न भएको प्रशासनले जनाएको छ।
राष्ट्रिय शोक मनाउने निर्णयअनुसार बैतडीमा पनि दीप प्रज्वलन गरी शोक मनाउन लागिएको हो। दीप प्रज्वलन कार्यक्रम दशरथचन्द नगरपालिका–४, गढीस्थित जिल्ला प्रशासन कार्यालय अगाडि हुने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामार्फत जिल्लास्थित सबै महानुभावलाई निर्धारित समय र स्थानमा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
रसुवामा भएको विपद्ले नेपालको प्राकृतिक विपद् व्यवस्थापन, पूर्वतयारी तथा जोखिम न्यूनीकरणको आवश्यकतालाई पुनः उजागर गरेको छ। विपद्बाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्बन्धित निकाय तथा सरोकारवालाको प्रभावकारी समन्वय आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।




