बैतडी –गर्मीयाम शुरु भएयता बैतडीमा स्क्रब टाइफसका बिरामी बढेका छन् । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै बैतडीमा १३९ जना स्क्रब टाइफसका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
किशोरकिशोरीदेखि वृद्धवृद्धासम्ममा स्क्रब टाइफस देखिएको छ । जिल्लाका दशओटा स्थानीय तहमध्ये मेलौली नगरपालिकामा सबैभन्दा बढी ७० जना र पञ्चेश्वर गाउँपालिकामा ३३ जना बिरामी भेटिएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी एवं तथ्यांक अधिकृत खगेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै पाटन नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ७ जना, पुर्चौंडी नगरपालिकामा ५ जना, सुर्नया गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा १ जना र दशरथचन्द नगरपालिकामा २ जना स्क्रब टाइफसका बिरामी भेटिएका सूचना अधिकारी कार्कीले बताए ।
गत दुई वर्षको तथ्यांक हेर्ने हो भने बैतडीमा स्क्रब टाइफसका बिरामी प्रत्येक वर्ष बढिरहेका छन् । आर्थिक वर्ष २०८१÷८२ मा १३६ जना बिरामी भेटिएका थिए भने गत वर्ष त्यो संख्या बढेर ३९४ पुगेको थियो ।
माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।




