Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइने 

बैतडी – बैतडीमा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकारवालाहरुको संयुक्त बैठकले आपूर्ती सुनिश्चतता र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनालाई निरन्तरता दिने निर्णय गरेको हो । 

स्थानीय तह,उद्योग वाणिज्य संघ र अन्य सरोकारवाला निकायहरुको समन्वयमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउने र अनियमितता भेटिएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् । यस्तै होटेल व्यवसायीहरुलाई सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । 

चाडपर्वको समयमा समग्र शान्ति सुरक्षा व्यवस्थालाई कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयले आ–आफ्नो जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्ने, चाडपर्वको समयमा हुन सक्ने जुवातास लगायतका कार्यहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । 

यस्तै चाडपर्वको समयमा हुने विभिन्न जात्रा तथा मेलाका लागि स्थानीय प्रशासनबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताइएको छ । धार्मिक स्थलमा चाडपर्वको समयमा हुन सक्ने भीडभाडलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने भनिएको छ । 

यातायात व्यवसायी र सुरक्षा निकायले समन्वय गरी चाडपर्वको समयमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधनको व्यवस्थापन गर्ने, मनपरी भाडा असुल गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

चाडपर्वको अवधिभर जिल्लाभरीका आकस्मिक उपचार केन्द्र र एम्बुलेन्सहरु तयारी अवस्थामा राख्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । 

यस्तै चाडपर्वलाई ध्यानमा राखेर जिल्लाभित्रका मुख्य सडक र भित्री सडकहरु सम्बन्धित जिम्मेवार निकायहरुले आगामी सातदिनभित्र मर्मत गरिसक्नुपर्ने उल्लेख गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा बसेको बैठकले जुवातास नियन्त्रण, आकस्मिक घटना न्यूनीकरण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा लगायतका बिषयमा आवश्यक निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update