बैतडी –दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुलेमा जिपबाट खसेर बैतडीको डिलाशैनी गाउँपालिकाका ३० वर्षीय सन्तोष जागरीको मृत्यु भएको छ ।
सोमबार दिउँसो सुपप्र०१००१ ज १६९० नम्बरको जिपबाट खसेर जागरी गम्भीर घाइते भएका थिए । चलिरहेको जिपको ढोकाबाट खसेका जागरीको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि लैजाने क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार जागरी आफैँ पनि सवारी चालक रहेका । उनी सोमबार बिहान गन्नाबाट साथीहरूसँगै बिटुले गएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जिप चालकसहित जिपमा सवार तीनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक निरजसिंह भाटले जानकारी दिए ।
जिप चालकसहित उक्त जिपमा रहेका तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । यद्यपि, घटनाको वास्तविक कारण र मादक पदार्थ सेवन गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिउँसो करिब १२ बजे घटना भएको भए पनि परिवारलाई साँझ ४–५ बजेतिर मात्रै घटनाबारे जानकारी गराइएको मृतक जागरीका साला पुष्कर खत्रीले बताए ।
घटना शंकास्पद रहेको भन्दै मृतकका परिवारले निष्पक्ष अनुसन्धान गरी घटनाको वास्तविकता बाहिर ल्याउन माग गरेका छन् ।




