Sagun Khabar
रौलेश्वर मावि रामकीबरायलको विव्यस अध्यक्षमा महरा चयन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकीबरायलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बरसिंह महरा चयन भएका छन् । मंगलबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले महरालाई सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । 

उक्त समितिको सदस्यमा जयबहादुर बिष्ट,राजमती भट्ट र द्रोपती बिष्ट चयन भएका छन् । यस्तै सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशवबहादुर बिष्ट पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधि सदस्यमा भरतबहादुर मडैलाई चयन गरिएको समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक हिरासिंह कुँवरले बताए । 

शिक्षा नियमावलीको दशौं संशोधन र सुर्नया गाउँपालिका शिक्षा शाखाको परिपत्र अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनगर्ठन गरिएको प्रधानाध्यापक कुँवरले बताए । 

कक्षा १२ सम्मको पढाइ हुने रौलेश्वर मावि रामकीबरायलमा ३ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नयाँ समितिसँग मिलेर काम गर्ने प्रधानाध्यापक कुँवरले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update