बैतडी –नेपाली कांग्रेसको संस्थापन इतर समूहको अधिवेशनले बैतडीको मेलौली नगरपाालिका समितिको सभापतिमा शंकरदत्त जोशीलाई चयन गरेको छ ।
मंगलबार सम्पन्न भएको देउवा समूहको नगर अधिवेशनले जोशी सभापति रहने गरेर नयाँ नगर कार्यसमिति चयन गरेको तरुण दल बैतडीका अध्यक्ष महेशदत्त भट्टले बताए ।
उक्त समितिको उपसभापतिमा केशव सिंह भाट र प्रेम बहादुर चन्द , सचिवमा जनक राज भट्ट र पदम सिंह नेगी , सहसचिवमा गीता जोशी र देवानराम पोखरेल लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
नगरपालिकाका ९ ओटै वडामा वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन गरेपछि नगर अधिवेशन सम्पन्न गरिएको भट्टले बताए ।
कांग्रेसको संस्थापन पक्ष केन्द्रीय महाधिवेशनमा व्यस्त रहेका बेला देउवा समूहले भने स्थानीयस्तरका अधिवेशनहरुमा केन्द्रित रहेको हो । देउवा पक्षले देशैभरी समानान्तर समिति गठन गरिरहेको छ ।




