Sagun Khabar
बाढी प्रभावितलाई ज्ञानेश्वर माविका शिक्षक–कर्मचारीको १ लाख ३० हजार रुपैयाँ सहयोग

बैतडी –रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडीको पाटन नगरपालिका–९, विजयपुरस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक लाख ३० हजार ६८२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीले भदौ महिनाको तलबबाट निश्चित दिनको पारिश्रमिक कट्टी गरी उक्त रकम जुटाएका विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए । 

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार जम्मा गरिएको विद्यालयका लेखापाल वसन्त विष्टले जानकारी दिए ।

राष्ट्रसेवक कर्मचारीकातर्फबाट गर्न सकिने सहयोग स्वरुप उक्त रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बिष्टले बताए । 

दुईदेखि सात दिनसम्मको तलबबाट योगदान

विद्यालयले उपलब्ध गराएको विवरणअनुसार शिक्षक तथा कर्मचारीले आफ्नो तह र जिम्मेवारीअनुसार दुईदेखि सात दिनसम्मको तलब बराबरको रकम सहयोग गरेका छन् । 

माध्यमिक तह तथा केही प्राथमिक तहका शिक्षकले सात दिन, निम्न माध्यमिक तथा प्राथमिक तहका केही शिक्षकले पाँच दिन र अन्य शिक्षक तथा कर्मचारीले दुई दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप उपलब्ध गराएका प्रधानाध्यापक जोशीले बताए । विद्यालयका २३ जना शिक्षक तथा कर्मचारीबाट संकलित रकम एक लाख ३० हजार ६८२ रुपैयाँ पुगेको विद्यालयले जनाएको छ । 

शिक्षकदेखि कार्यालय सहयोगीसम्मको सहभागिता

सहयोग रकम प्रदानमा गर्नेमा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका शिक्षकसँगै नगर शिक्षक, निजी स्रोतका शिक्षक, कार्यालय सहायक तथा कार्यालय सहयोगीसमेत सहभागी भएका विद्यालयका शिक्षक धनबहादुर महराले बताए । 

विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीसहित विभिन्न तह र जिम्मेवारीमा रहेका शिक्षक तथा कर्मचारीले आफ्नो पारिश्रमिकको हिस्सा विपद् प्रभावित नागरिकका लागि उपलब्ध गराएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update