बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा भोलिदेखि निशुल्क दन्त तथा स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
युनाइटेड नेपाल फाउण्डेसन भक्तपुर, सगरमाथा हेल्थ फाउण्डेसन महाराजगञ्ज र हेल्थ केयर नेपालको आयोजना र सुर्नया गाउँपालिकाको समन्वयमा भोलिदेखि मंसिर ६ गतेसम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने युनाइटेड नेपाल फाउण्डेसनका अध्यक्ष केशवबहादुर चन्दले बताए ।
स्थानीयस्तरमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको अध्यक्ष चन्दले बताए । शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने शिविरले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ । दाँत सम्बन्धी समस्या भएका नागरिक र स्त्रीरोग सम्बन्धी समस्या भएकाहरुलाई शिविरमा आएर सेवा लिन आग्रह गरिएको हो ।
शिविरमा स्त्री रोग बिशेषज्ञ डा.पदमराज पन्त, दन्त रोग बिशेषज्ञ डा.दिपकराज जोशी लगायतको टोलीले सेवा दिने चन्दले जानकारी दिए ।
शिविरमा सेवा दिनका लागि बिशेषज्ञ चिकित्सकसहितको टोली आइसकेको युनाइटेड नेपाल फाउण्डेसनका अध्यक्ष चन्दले बताए । शिविरको तयारी पूरा भइसकेको जनाइएको छ ।
यस्तै सुर्नया गाउँपालिकाले पनि एक सूचना जारी गर्दै गाउँपालिकामा भोलिदेखि सञ्चालन हुने शिविरमा आएर सेवा लिन नागरिकहरुलाई आग्रह गरिएको छ ।
शिविर सञ्चालनका लागि राप्रपाका नेता भुपेन चन्दले अग्रसरता लिएका थिए । युनाइटेड नेपाल फाउण्डेसनका संरक्षक समेत रहेका चन्दले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन आफ्नातर्फबाट शिविरको सञ्चालनको पहल गरेको बताए ।




