बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध राताशीला –त्रिवेणी धाममा कफलखाना–गिरेगडा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल दशमी र हरिबोधनी एकादशीका दिन उक्त धाममा जात्रा लाग्ने गरेको छ ।
कार्तिक शुक्ल दशमीको राति र हरिबोधिनी एकादशीको दिन राताशीला मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय डम्मर कुँवरले जानकारी दिए । कफलखाना गिरेगडा जात्राको नामले परिचित राताशीला मन्दिरको जात्रामा हजारौंको सहभागिता रहने गरेको उनले बताए ।
उक्त जात्रामा बैतडीका मात्रै नभएर विभिन्न स्थानका दर्शनार्थीहरु पुग्ने गरेका छन् । कफलखाना गिरेगडाको जात्रामा छालाको गीर अर्थात भकुण्डो खेल्ने चलन रही आएको छ ।
राताशीला देवताका धामी काँपेर भकुण्डो फालेपछि स्थानीयहरुले गीर खेल्ने गरेको कुँवरले बताए । रौत र टिकट दुई समूहमा विभाजन भएका स्थानीयहरुले आफ्नोतिर गीर लग्नका लागि बल गर्ने गरेका छन् । जसको समूहले भकुण्डो लग्न सक्यो उसैको जित भएको मानिने चलन रही आएको छ ।
राताशीला महादेव मन्दिरमा रैकाल जातिले पूजाआजा गर्ने र सबैले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ । राताशीला मन्दिरमा लाग्ने कफलखाना गिरेगडा जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिने गरिएको स्थानीय करनप्रसाद भट्टले बताए ।
यसैबीच कफलखाना–गिरेगडा जात्राको अवसरमा पुर्चौंडी नगरपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा आज र भोलि नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैर सरकारी निकाय र शिक्षण संस्थाहरुमा बिदा रहेको नगरपालिकाले जनाएको छ ।
यस्तै कफलखाना –गिरेगडा जात्राको अवसरमा आजदेखि देउडा कार्यक्रम पनि शुरु गरिएको छ । स्थानीय कला र संस्कृतिकको संरक्षणका लागि देउडा कार्यक्रम राखिएको आयोजक पुर्चौंडी युथ क्लबले जनाएको छ ।
भोलिसम्म सञ्चालन हुने देउडा कार्यक्रममा कालीकोटकी चर्चित देउडा कलाकार यशोदा देवकोटा र बझाङका चर्चित देउडा कलाकार सत्यराज जोशी लगायत अन्य कलाकारहरुको सहभागिता रहेको जनाइएको छ ।




