बैतडी –बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा यही मंसिर ७ र ८ गते ‘देहीजात’ हुने भएको छ । ‘देहीजात’मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा हो ।
मेलौली नगरपालिका – १ स्थित मेलौली भगवती मन्दिरमा लाग्ने देहीजातमा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले बताए ।
देहीजातको नामले परिचित मेलौली भगवतीको जात्रामा पशुबली दिने चलन समेत रही आएको छ । यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।
यस्तै देहीजातलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् ।
मेलौली धार्मिक सेवा समितिको मंसिर २ गते बसेको बैठकले मेलौली नगरपालिका–६ का वडा अध्यक्ष तारादत्त भट्टको संयोजकत्वमा ५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरेको मेलौली धार्मिक सेवा समितिका सचिव दशरथसिंह नायकले जानकारी दिए ।
त्यस्तै, चिन्तासिंह बिष्टको संयोजकत्वमा तीन सदस्यीय स्टल वितरण समिति गठन गरिएको छ । आजदेखि व्यापारी तथा व्यवसायीलाई स्टल वितरण शुरु गरिएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ ।
मेलालाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको र मेलामा आउने श्रद्धालु तथा दर्शनार्थीलाई सहज रूपमा देवीको दर्शन गर्ने वातावरण मिलाउनुका साथै स्टल व्यवस्थापन, सरसफाइ, सुरक्षा र अन्य आवश्यक व्यवस्थापकीय पक्षमा ध्यान दिइने सचिव दशरथ नायकले बताए ।




