Sagun Khabar
बैतडीको सिगासमा सेतीको बाढीले विद्यालय भवन बगायो, विद्यार्थीलाई विद्यालय पुग्नै सकस 
फोटो : सेती नदीको कटानले जोखिममा परेको गणेश माविको भवन, तस्बिर : पदम साउँद

बैतडी –असोज ३१ गते रातीदेखि तीन दिन अविरल रुपमा भएको बर्षाले सेती नदीमा बाढी आउँदा एक विद्यालय भवन बगाएको छ । कक्षा ३ सम्म पढाई हुने सिगास गाउँपालिका वडा नं ७ स्थित भगवती आधारभूत विद्यालय बौरीको भवन बगाएको स्थानीय शिक्षक पदम साउँदले बताए । सेती नदीको बाढीले विद्यालय भवन पुरै बगाएको उनले बताए । 

करीब डेढ सय विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयको भवन बाढीले बगाउँदा बालबालिकाहरुको पठनपाठन ठप्प भएको छ । यस्तै दुईओटा झोलुंगे पुल बगाउँदा विद्यार्थीहरुलाई विद्यालय पुग्नै सकस भएको छ । सिगास गाउँपालिका ५ ढुंगाडदेखि डोटीको तलारा जोड्ने र बैतडीको मौरीबगरदेखि डोटीको बबेना जोड्ने झोलुंगे पुल बगाएको शिक्षक साउँदले बताए । 

सेती नदीको कटानले गणेश मावि लेकमबस्तीको भवन पनि जोखिममा परेको छ । गणेश माविमा डोटीको तलारा र बबेनाका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका भएपनि सेती नदीले झोलुंगे पुल बगाएपछि उनीहरु विद्यालय आउन नसकेका शिक्षक साउँदले बताए । उनले भने ‘बाढीले पुल बगाएपछि विद्यार्थीहरुलाई विद्यालय पुग्ने वैकल्पिक बाटो नै छैन् । त्यसैले तत्काल विद्यालय सञ्चालन गर्न सकिने अवस्था पनि छैन् ।’

Atrya hospital

सेती नदीको बाढीले सिगास गाउँपालिको ढुंगाड लगायतका क्षेत्रमा सैयौं रोपनी खेत बगाएको छ । नदीले सबै खेत बगरमा परिणत गरिदिएको छ । 

यस्तै ठाउँठाउँमा खसेको पहिरोले बाटोघाटो समेत नष्ट भएपछि ढुंगाडबासीलाई खाद्यान्नको समेत अभाव हुन थालेको छ । ‘हाम्रो नजिक बजार भनेको बझाङको द्यौरा हो । तर बाटो भत्किएपछि जान सकिने अवस्था छैन् ।’शिक्षक साउँदले भने, ‘बाढी र पहिरोले सबै ठाउँ तहसनहस गरेको छ ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update