Sagun Khabar
बैतडीमा भारतसंग जोडिएका गाउँहरुमा सञ्चारका लागि भारतीय फोनकै भर 

बैतडी –बैतडीको भारतसंग सीमा जोडिएका ठाउँका नागरिक सञ्चारका लागि भारतीय फोनमै निर्भर रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केही ठाउँहरुमा अझै पनि नेपाली नेटवर्कले काम नगर्ने हुँदा त्यहाँका नागरिक सञ्चारका लागि भारतीय फोन प्रयोग गर्दै आएका छन् । महाकाली किनारका गाउँहरुमा नेपाल टेलिकम तथा एनसेलको नेटवर्क नआउँदा भारतीय सीमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा सदस्य रामसिंह मंगोलाले जानकारी दिए । उनले भने ‘हाम्रो गाउँघरतिर नेपाली नेटवर्क आउँदैन । त्यसैले हामीले भारतीय सीम प्रयोग गर्ने गरेका छौं ।’

खबर आदानप्रदान गर्न तथा इन्टरनेट चलाउन पनि भारतीय सीमकै प्रयोग गर्ने गरिएको शिवनाथ १ बछेलाका हरिसिंह साउँदले बताए । उनले भने ‘नेपाली नेटवर्कले काम नगर्दा हामीहरु भारतीय सीम प्रयोग गर्छौं । फोन र इन्टरनेट भारतीय सीमबाटै चलाउने गरेका छौं ।’

सीमा क्षेत्रमा नेपाल टेलिकम तथा एनसेलको समेत टावर नहुँदा सीमा क्षेत्रका नागरिकहरु भारतीय फोनमा निर्भर रहेका छन् । इन्टरनेट चलाउन केही सजिलो भएपनि नेपालतिर सम्पर्क गर्न भने भारतीय सीमबाट निकै गाह्रो हुने गरेको शिवनाथका स्थानीय गोलु साउँदले बताए । उनले भने ‘आफन्तहरुलाई भारतीय सीमबाट फोन गर्दा निकै महंगो हुन्छ । हाम्रो गाउँमा नेपाली नेटवर्क नै आउँदैन् ।’

Atrya hospital

सीमा क्षेत्रमा नेपाली नेटवर्कले काम नगर्दा स्थानीयहरुलाई समस्या हुने गरेको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । उनले भने ‘सीमा क्षेत्रमा नेपाली फोनहरु नलाग्दा निकै समस्या हुने गरेको छ । सीमा क्षेत्रमा नेपाली नेटवर्कको व्यवस्थापन गर्नु आवश्यक छ ।’
 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update