Sagun Khabar
बैतडी कांग्रेसमा शिवराज भट्टलाई आफ्नै समूहबाट ‘धोका’

बैतडी–नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला नेतृत्वका लागि भएको चुनावमा सभापतिका प्रत्याशी शिवराज भट्ट झण्डै दोब्बर मतान्तरले पराजित भए । चतुरबहादुर चन्द ८०९ मत ल्याएर विजयी हुँदा भट्टले ४८९ मत मात्रै प्राप्त गरे । 

शेरबहादुर देउवा अर्थात संस्थापन प्यानलबाट सभापतिमा चुनाव लडेका भट्टले आफ्नो समूहमा सबैभन्दा कम मत पाएका छन् । यसरी हेर्दा उनलाई उनकै समूहका नेता कार्यकर्ताले धोका दिएको बिश्लेषण हुन थालेको छ । शिवराज भट्ट नजिकका एक नेताले भने ‘समूहबाटै धोका भएको हामीले ठानेका छौं । यति मतान्तर हुनु भनेको आफ्नै समूहले पनि धोका दिएको ठहर हुन्छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

शिवराज भट्ट प्यानलमा अन्तिम समयमा महाधिवेशन प्रतिनिधिमा कुरा नमिलेपछि दुई सूची दर्ता भएको र त्यसले मतपरिणाममा प्रभाव पारेको आँकलन गरिएको छ । सो प्यानलले ७० प्रतिशत मतदाता आफूसंग रहेको कम्तीमा ६० प्रतिशत मत पाउने आँकलन गरेको थियो तर परिणाम भने ठिक्क उल्टो आएको छ । 

शिवराज भट्टले आँफै पनि यो पाली सभापतिमा लड्ने आकाँक्षा खासै राखेका थिएनन् । तर देउवा प्यानलको तर्फबाट उनलाई सभापतिको उम्मेद्वार बनाइयो । उम्मेद्वार बनाउने बेला कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले समेत सहयोग गरेका थिए । तर चुनावको बेला लेखक समूह चन्द प्यानलसंग मिलेपछि शिवराज भट्टले हार व्यहोर्नु परेको भट्ट नजिकका नेताले बताएका छन् । 

यता एनपी साउँद पक्षहरुकाहरुले पनि भट्टलाई खासै सहयोग नगरेको पाइएको छ । सामूहिक मत माग्नुभन्दा पनि व्यक्तिगत मत मागेका कारण संस्थापन समूह कमजोर भएको बिश्लेषण गरिएको छ । सो समूहमा नेता धेरै र कार्यकर्ता व्यवस्थापनमा ध्यान नदिँदा नसोचेको परिणाम आएको निष्कर्ष निकाल्न थालिएको छ ।

यो बिषयमा सभापतिका प्रत्याशी भट्टले भने अहिले नै केही नबोल्ने बताए । उनले भने ‘मलाई असहयोग भयो तर कहाँ कसरी के भयो अहिले केही भन्दिन् । सबै मतदाताहरुलाई धन्यवाद दिन्छु । विजेता साथीहरुलाई बधाई छ ।’

बैतडीमा कांग्रेसका दुईजना केन्द्रिय सदस्य रमेश लेखक र एनपी साउँदकै टकरावका कारण देउवा समूह कमजोर हुँदै गएको छ । यी दुवै नेताका कार्यकर्ताहरु अलग अलग बाटोमा लागेपछि देउवा समूह अर्थात संस्थापन पक्ष कमजोर हुँदै गएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update