बझाङ- बझाङमा अज्ञात रोगबाट १ वर्षमै ६ शिशुले ज्यान गुमाएका छन्। जयपृथ्वी नगरपालिका–१ को भण्डार गाउँमा अनौठो खालको लक्षण देखिने रोगले शिशुहरुले ज्यान गुमाएका हुन्।
भण्डार गाउँकी ललिता रोकायाको ३ महिने छोरो, रेखा विष्टको १ महिने र सुमन विष्टको ४ महिनाको शिशु गरी हालसम्म ६ जनाको यस्तै लक्षणका कारण मृत्यु भइसकेको स्थानीय मोहनबहादुर विष्टले बताए।
उनका अनुसार ती शिशुको बान्ता, पिसाब र श्वासबाट पेट्रोल तथा डिजेलको जस्तो गन्ध आउने अनौठो खालको लक्षण देखिएको थियो।
यस्तै खालको लक्षणपछि गम्भीर बिरामी परेका दुई बालकलाई धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ। शिशुहरूमा भएको संक्रमणको निदान जिल्लामा हुन नसकेपछि धनगढी पठाइएको जिल्ला अस्पतालका डा. मिलन खड्काले बताए।
उता स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले यसबारे माथिल्लो निकायहरूमा जानकारी गराइसकेको बताएका छन्।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
