Sagun Khabar
सुदूरपश्चिममा गौरा एकादशी पर्व मनाइँदै 
फाइल फोटो

बैतडी –सुदूरपश्चिमका पहाडी समुदाय आज गौरा एकादशी पर्व मनाउँदैछन् । हरेक बर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । आजको दिन गौरा उपासना गर्ने महिलाहरु ब्रत बस्ने गर्दछन् । 

गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने नियम रहेको सुर्नया ६ की हरिना अवस्थीले बताइन् । पहिलो पटक गौरा उपासना गर्नेहरुले पनि गौरा एकादशीको ब्रत बस्नुुपर्ने नियम रहेको उनले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ । गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरेका छन् । 

हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ । त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो । 

भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ । यो बर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको ब्रत बस्ने महिलाहरुले उजेली गौरामा ब्रत बस्न उपयुक्त हुने बताइएको छ । 

सुदूरपश्चिमका बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ लगायतका जिल्लाहरुमा गौरा पर्व मनाउने चलन रही आएको छ । तराईका जिल्लाहरुमा पनि पहाडी समुदायहरुले गौरा पर्व मनाउने गरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update