Sagun Khabar
भारतले सडक बनाउँदा नेपालमा क्षति 

दार्चुला –भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।

मङ्गलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले बताए । प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ। भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो।

स्वास्थ्य सन्देश
Atrya hospital

स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्ण रूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको बुढाथोकीले बताए । भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ ।

भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ । दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पु¥याएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update