Sagun Khabar
दार्चुलाको थामुमा ऐतिहासिक शिला भेटियो 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं २ मा थामुमा ऐतिहासिक शिला भेटिएको छ । स्थानीय जयराज भट्टले घर निर्माणका लागि ढुंगा निकाल्ने क्रममा ऐतिहासिक शिला भेटिएको शैल्यशिखर नगरपालिका वडा नं २ का वडा अध्यक्ष माधवराज भट्टले बताए । उनले भने ‘थामुमा शिवपार्वतीका मूर्ती भएका शिला भेटिएका छन् । यस्तै गणेश, विष्णु भगवान आदिका मूर्ती समेत भेटिएका छन् ।’

थामुमा ऐतिहासिक र धार्मिक महत्वका शिला भेटिएपछि स्थानीयहरुले पूजाआजा समेत गरेका छन् । परापूर्वकालमा देवीदेवताको बासस्थान रहेको हुन सक्ने भन्दै सो ठाउँमा पूजाआजा गरिएको वडा अध्यक्ष भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिला देखिएका ठाउँमा पूजाआजा गरिएको र यसको प्रचारप्रसारका लागि स्थानीय सरकारसंग माग समेत गरिएको छ । सो ठाउँमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबीर कार्कीले समेत अवलोकन गरेको वडा अध्यक्ष भट्टले बताए । 

थामुमा भेटिएको शिलाका बारेमा प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीयहरुले बताएका छन् । 

थामुमा ऐतिहासिक शिला भेटिएको र यसको प्रचारप्रसार भएमा धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । उनले भने ‘थामुमा विभिन्न हिन्दूधर्मसंग सम्बन्धित देवीदेवताका मूर्तीहरु भेटिएका छन् । यो ठाउँमा धार्मिक महत्वको ठाउँ पनि हो । त्यसैले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।’
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update