बैतडी – बैतडीमा डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मूहान सुक्न थालेका छन् ।
विकासको नाममा स्थानीय तहले सडक निर्माणमा जथाभावी डोजर चलाउँदा र मुख्य राजमार्गमा मोड सुधारको नाममा डोजर चलाउदा खानेपानीका मूहान सुक्न थालेका हुन् । प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक निर्माण गर्दा यस्तो अवस्था आएको हो । जलवायु परिवर्तन, वनजंगल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको बताइन्छ ।
कतिपय खोला र मूहान सुकेर सुख्खा बनेका छन् । पानीका मूहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढदै गएको छ । सडक निर्माण गर्दा पुरिएका खानेपानीका मूहान सडक निर्माणको ठेक्का लिएर निर्माण गरिरहेको कम्पनीले नै मर्मत गर्नुपर्ने भएपनि कतिपय ठाउँमा सम्बन्धित निर्माण कम्पनीले मर्मत सम्भारको काम नगर्दा खानेपानीको समस्या आउने गरेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीका प्रमुख गोविन्दप्रसाद देवकोटाले बताए ।
बैतडी जिल्लामा खानेपानीको पर्याप्त सुविधा नभएका विभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सडक निर्माण गर्दा सुक्न थालेपछि पानीको समस्या बल्झिदै गरेको छ । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीका मूहान सुक्दै गएपछि चिन्तित बनेका छन् ।
डिभिजन सडक कार्यालयले भने सडक निर्माण गर्दा पुरिएका खानेपानीका मूहान सडक निर्माणको ठेक्का लिएका कम्पनीबाट नै पुननिर्माण निर्माण गराउने गरेको डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख लक्ष्मण दत्त जोशीले बताए ।
पर्यावरण सन्तुलन जाँचबुझ नगरिकन सडक धमाधम निर्माण हुदा जिल्लामा विगतका वर्षहरुमा खानेपानीको समस्या नहुने ठाउँमा पनि पछिल्लो समयमा खानेपानीले काकाकुल बन्नु पर्ने अवस्था आउन थालेको छ । पुराना खानेपानीका मूहान संरक्षण नहुँदा पानीका स्रोत हराँउदै गएका छन् । जिल्लाका अधिकांश स्थानीयतहले स्काभेटर र डोजर खरिद गरेका छन् । तिनै मेसिनहरुले जताततै सडक खन्दा पानीका मूहान सुक्नुका साथै वन क्षेत्रमा क्षति पुगेको छ ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
