Sagun Khabar
सुदुरपश्चिमका पहाडी जिल्लाका किसान: कोही मकै बारिमा व्यस्त, कोही धान रोप्ने तयारीमा

गोविन्द पन्त बैतडी - जेठ महिनाको अन्तिम सातासंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूका कृषकहरू बाली उत्पादनमा व्यस्त देखिएका छन्।

वर्षाको समय सुरु भएसँगै कोही मकै बारिमा झारपात सफा गरि स्याहार गर्ने कार्यमा व्यस्त छन् भने कोही धान रोपाइँको तयारीमा जुटिरहेका छन्। बझाङ, बैतडी, डडेल्धुरा, दार्चुला, अछाम, र बाजुरा  लगायतका जिल्लाहरूका किसानहरू अहिले बिहानदेखि बेलुकासम्म खेतमा पसिना बगाइरहेका छन्। कतिपय किसानले पहिले रोपेका मकैमा झार सफा गर्दैछन् भने कतिपयले भर्खरै मल छर्किने काम गरिरहेका छन्। अर्को तर्फ, खेत जोत्नेदेखि पानीको व्यवस्था गर्दै  धान रोपाइँको तयारी पनि तीव्र भइरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरि दत्त जोशीले बताए ।

जेठको अन्तिमसाता देखि असारको पहिलो साताभित्र मकैको हेरचाह र धान रोपाइँ दुवै काम समाल्नु पर्ने भएकाले यो समयमा निकै गाह्रो हुने गरेको स्थानीय किसानहरुको भनाइ रहेको छ । धान रोपाइँका लागि असार महिना सबैभन्दा उपयुक्त मानिन्छ। यही कारणले गाउँघरमा सबै उमेर समूहका मानिस खेतमा जुटेका छन्। कतिपय ठाउँमा अझै पर्याप्त पानी नपरेको र बैकल्पिक सिचाइ सुबिधा नहुदा रोपाइँको तयारीमा ढिलो भएको किसानहरूको गुनासो रहेको छ।

बैतडीका अधिकांश किसाले आकाशे पानीको भरपर्नु पर्ने भएकाले पानी ढिलो पर्ने देखिएपछि किसानहरु धान रोप्न ढिला हुने चिन्तामा रहेका छन । सिँचाइको सुविधा नभएका ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने हुन्छ। हरेक वर्ष आकाशे पानीको भरपर्ने सुदूरपश्चिमका किसान अझै परम्परागत कृषि प्रणालीमा आधारित रहेर धान रोप्ने गरेका कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख जोशीले बताए ।

आधुनिक उपकरण र वैज्ञानिक विधिहरूको पहुँच कमजोर भएको कारणले उत्पादनमा पनि प्रत्यक्ष असर परेको स्थानीय कृषकहरूको भनाइ रहेको छ। यद्यपि, केही ठाउँमा कृषि सहकारी र स्थानीय सरकारको सहयोगमा सिँचाइ, मल तथा सुधारिएको बिउको व्यवस्था मिलाउन थालिएको छ। खेतीपातीमा जुटिरहेका कृषकहरूको पसिनासँगै वर्षा सहि समयमा भएमा यो वर्ष राम्रो बालीको अपेक्षा गरिएको छ। तर, जलवायु परिवर्तनका कारण समयमै वर्षा नहुनु, अत्यधिक वर्षा वा खडेरीजस्ता समस्याले किसान चिन्तित हुने गरेका छन । 

बैतडीमा मकै उत्पादन हुने कुल क्षेत्रफल दस हजार एक सय हेक्टर जमिन रहेको छ भने धान उत्पादन हुने कुल खेतीयोग्य क्षेत्रफल ५१ सय २५ हेक्टर जमिन रहेको छ । यस्तै गत आर्थिक वर्षमा कुल हेक्टर क्षेत्रफलमा मकै १८ हजार ५ सय ४८ मेट्रीकटन उत्पादन भएको छ भने धान कुल क्षेत्रफलमा १३ हजार ८ सय ३८ मेट्रीकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र बैतडीको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update