
गोविन्द पन्त बैतडी - बझाङ जिल्लाका वडा अध्यक्षहरुले मुख्य मन्त्री कमलबहादुर शाहलाई माग पत्र पेश गरेको छ ।
बझाङ जिल्लाका नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले आफ्नो तर्फबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई समर्पित मागपत्र पेश गरेको हो। माग पत्र बुझाउदै वडा अध्यक्षहरुले २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको तीन वर्ष पूरा हुँदै गर्दा पनि प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आवश्यक संरचना,स्रोत साधन र बजेट पुर्ती गर्न नसकेको गुनासो गरेका छन्।
मुख्यमन्त्रीलाई पठाइएको पत्रमा वडाध्यक्षहरुले संविधानले दिएको अधिकार अनुसार जनताको सेवा गर्न र विकास निर्माणको काम अगाडि बढाउन वडामा बजेट सुनिश्चित, प्राविधिक, सचिव, स्टाफ लगायतको स्थायी व्यवस्था हुनुपर्ने माग राखिएको छ। हालसम्म अस्थायी रुपमा काम गरिरहेको जनशक्ति अपुग रहेको , बजेट अपुग र बेला बेला आफुहरु ध्यानाकर्षण गर्दा समेत वडाहरुका समस्या समाधानको लागि बजेट विनियोजन नगर्दा जनताको अपेक्षा अनुसारको सेवा दिन नसकेको बझाङ नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष सञ्जालका सह संयोजक धनराज मिश्रले बताए ।
वडाहरुमा सवारीसाधन, कार्यालय भवन, प्रविधि र दक्ष जनशक्तिको अभाव रहेकोले काममा ढिलासुस्ती हुने गरेको बताइएको छ। यसका साथै, वडाध्यक्षहरुको सामाजिक सुरक्षासहितका सुविधा सुनिश्चित हुनुपर्ने, गाउँपालिकाको कार्यविधि अझ पारदर्शी र जवाफदेही बनाउनुपर्ने जस्ता मागहरु पत्रमा उल्लेख गरिएका छन्।
पत्रमा भनिएको छ, "जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका हामी वडाध्यक्षहरुले जनताको विश्वास र अपेक्षा अनुसार सेवा दिन राज्यको संरचनात्मक तथा प्रशासनिक सहयोग अपरिहार्य छ।" उनीहरुले मुख्य मन्त्रीलाई यथाशीघ्र पहल गरी आफुहरुका माग सम्बोधन गरिदिन अनुरोध गरेका छन्।
उक्त मागपत्रमा बझाङ जिल्लाका नेपाली काङ्ग्रेसबाट निर्वाचित ३६ जना वडाध्यक्षहरुको सहमति र समर्थन रहेको जनाइएको छ। माग पत्रको प्रतिलिपि नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दल, पार्टी कार्यालय, र सम्बन्धित निकायहरुमा समेत पठाइएको सह संयोजक मिश्रले बताए ।
स्थानीय संरचना अनुसार वडातह सम्म राज्यको नजर पुग्न नसकेको गुनासो गर्दै , वडा अध्यक्षहरुले आफुहरुलाई दोस्रो दर्जाका जनप्रतिनिधि सोच्ने माथिल्लो तहको मनो विज्ञानले आफुहरुको आत्म सम्मानमा ह्रास आएको सह संयोजक मिश्रको भनाइ रहेको छ ।
मुख्य मन्त्री शाहलाई पत्र लेख्दै वडा अध्यक्षहरुले मा. मन्त्री ज्यु पनि विद्यार्थी राजनीतिबाट नै उदाउनु भएकाले साच्चिकै तल्लो स्तरमा काम गर्ने हामी जस्ता वडा अध्यक्ष राज्य बाटै पिडित भएको भन्दै आक्रोश व्याक्त गरिएको छ । जिल्लामा वर्तमान वडा अध्यक्ष सञ्जाल गठन गरि बुझाइएको पत्रमा आफुहरु जस्ता पिडित वडा अध्यक्षको भावनालाई बुझी माग सम्बोधन गर्न आग्रह गरिएको छ ।