बैतडी - जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य नै हो ।
तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उहाँले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ । यस्ता महान् व्यक्तित्वमध्ये एक हुन, क्रान्तिकारी किसान नेता भीमदत्त पन्त ! साउन १७ गते (आज), देशभर विभिन्न कार्यक्रममार्फत सहिद भीमदत्त पन्तको स्मृति दिवस मनाइँदै छ ।
तर, यो दिवस केवल सम्झनाको औपचारिकता नभई विचार र आन्दोलनको पुनः स्मरण र कार्यान्वयनको आह्वान पनि हो । विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उहाँले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गर्नुभएको थियो ।
धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा माक्र्सवादको सङ्गमले उहाँभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनायो । भिमदत्त पन्त “शिक्षाले विद्वान्मात्र हैन, सामाजिक न्यायको लागि समर्पित योद्धा, गीता र माक्र्सलाई आत्मसात् गरेर उहाँले वर्गीय विभाजनमाथि प्रश्न उठाउने सुदुरपश्चिमका परिवर्तनका पिता हुन । विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उहाँले नेतृत्व गरेको आन्दोलनले उहाँलाई भीमदत्त कांग्रेसको संज्ञा दियो ।
विसं २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उहाँले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, “अब कुनै जाति ठूलो सानो भन्ने सन्देश उहाँले दिनु भयो।” भिमदत्त पन्त “भाषणमा होइन, व्यवहारमै जातीय विभेद तोड्नु हुने व्याक्ती हुन । एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले नै सुरू गर्नु भयो ।”
भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । उहाँले बेदखली रोक्नुभयो, तमसुख जलाउनुभएको थियो । “सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो” । जो त्याहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झन लायक छ ।” उहाँले जात र हलिया मात्र होइन, नागरिक हौँ भन्ने आत्मविश्वास , बल र चेतना समेत फैलाउनु भयो ।
उहाँ केवल नेता थिएनन्, सामाजिक रुपान्तरणमा आत्मसम्मानका संवाहक थिए । तर आन्दोलन पुरा नहुदै उहाँले सहादतप्राप्त गर्दा मुक्तिका लागि वर्षौ पर्खिनुपर्यो ।” भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उहाँलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो ।
परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो । “भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि” तसर्थ “त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् ।” सहिद पन्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेका छन । नेता पन्तले भन्ने गर्नुहुन्थ्यो, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो ।
विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई सहिद घोषणा गरेको थियो । नेता पन्तको सपना तव मात्रै पूरा हुन्छ “जब भूमिहीन, सुकुम्बासी र बाढीपीडितलाई जग्गा दिइन्छ, कृषि आत्मनिर्भरता सुनिश्चित गरिन्छ, शिक्षा, स्वास्थ्य, रोजगारी सबैमा समान पहुँच हुन्छ, न्याय, समानता र समावेशीताको मूल्य व्यवहारमा लागू गरिन्छ ।” भीमदत्त पन्त आज भौतिक रूपमा उपस्थित छैनन् । तर उहाँका विचारहरू, सपना र बलिदानले आजको भूमिहीनको आवाजलाई मार्गदर्शन गरिरहेका छन ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
