
गोविन्द पन्त बैतडी - बैतडीको सतबाझमा कच्ची सडक निर्माणपछि घरमाथिबाट आएको पहिरोले एक घर पुरिएको छ ।
स्थानीय स्रोतका अनुसार आइतबार बिहान परेको अविरल वर्षापछि सडक खन्ने क्रममा कमजोर बनेको जमिन भासिएर घरमाथिबाट ठूलो पहिरो खस्दा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय ग्रीसचन्दको पहिरोले घर पुरिएको बताइएको छ । हिजो बिहान परेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोले स्थानीय चन्द परिवारको घर पुर्ण रुपमा नष्ट भएको छ । पहिरोका कारण एक जना घाइते भएका छन । घाइते हुनेमा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय गोदावरी चन्द रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेले बताए ।
घाइते चन्दलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा , अहिले जिल्ला अस्पतालबाट रिफर गरि डडेल्धुरा पठाइएको बताइएको छ । पहिरोका कारण घरमा ठूलो भौतिक क्षति पुगेको छ भने घरायसी समान , नगद लत्ताकपडा , खाद्यान्न र पशुचौपाय समेत पहिरोमा पुरिएको प्रवक्ता प्रहरी निरिक्षक पाण्डेले बताए ।
यस्तै पहिरोले घर पुरिएपछी अहिले चन्द परिवार छिमेकीको घरमा आश्रय लिइरहेका बताइएको छ । स्थानीय चन्दको घर पहिरोले पुरिएपछी अनियन्त्रित सडक निर्माणका कारण पहिरोको जोखिम बढेको गुनासो रहेको छ । वर्षायाममा गाउँका अन्य घर पनि जोखिममा परेका कारण सतर्कता अपनाउन स्थानीय निकायले आग्रह गरेका छन् ।