Sagun Khabar
बैतडीमा डिभिजन वन कार्यालयको११ लाख २५ हजार लगानी मा, ७५ हजार बिरुवा वितरण

बैतडी - जिल्ला डिभिजन वन कार्यालय बैतडीले आर्थिक वर्ष २०८१/८२ मा ११ लाख २५ हजार रुपैयाँ बराबरको लगानीमा ७५ हजार बोट उत्पादन तथा वितरण गरेको छ । प्रती बोट १० रुपैयाँ लागतका दरले ५० हजार एक वर्षे बोट र २५ रुपैयाँ लागतका दरले २५ हजार बहुवर्षीय बोट उत्पादन गरि वितरण गरिएको जिल्ला डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

कार्यालयका अनुसार सरकारी लगानीमा उत्पादन गरिएका बोट डिभिजन कार्यालय लगायत मातहतका कार्यालयबाट २५ हजार बहुवर्षीय र ५० हजार एकवर्षीय बिरुवाका बोट स्थानीय तह र सामुदायिक वन समूहलाई निःशुल्क उपलब्ध गराइएको हो । वन विस्तार र वातावरण संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै डिभिजन वन कार्यालय बैतडीले आफ्नै उत्पादनमा आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार बोट वितरण गरेको जिल्ला डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्त राज गिरिले बताए ।

उहाँका अनुसार असार, साउन र भाद्र महिनामा वर्षा यामलाई लक्षित गर्दै २५ हजार बहुवर्षीय र ५० हजार एक वर्षे गरी कूल ७५ हजार बोट वितरण गरिएको बताइएको छ । यसले जिल्लाभर हरियाली वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम गर्न तथा स्थानीय बासिन्दालाई आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा सहित वितरण गरिएको बताइएको छ ।

विभिन्न स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, शैक्षिक संस्था तथा सरोकारवाला निकायसँगको सहकार्यमा एक वर्षे र बहुवर्षे बिरुवाका बोट वितरण गरिएको जनाइएको छ । वन कार्यालयले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष गरी वन जडिबुटी ,फलफूल, दाउरा र घाँसका लागि उपयुक्त जातका बिरुवाका साथै माटो संरक्षण र जैविक विविधता वृद्धिमा सहयोग पुग्ने प्रजातिका बिरुवाहरू वितरण गरेको प्रमुख गिरिले बताए ।

बढ्दो वातावरणीय प्रदूषण, वन फँडानी र जलवायु परिवर्तनको चुनौतीबीच बैतडीमा वितरण भएका बोट विरुवाले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।  मानव वस्ती विकास संगै वन संरक्षण र व्यवस्थापनमा वृक्षरोपणलाई दिगो बनाउन स्थानीय समुदायको सक्रियता अपरिहार्य रहन्छ, त्यसकारण बिरुवा लगाउने मात्र नभई यसको संरक्षणमा पनि जोड दिनु पर्ने आवश्यकता रहेको विज्ञहरुले बताउने गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update