Sagun Khabar
एबीसी क्रिकेट कप २०८२ : लगातार दुई खेलमा विजय हासिल गर्दै स्टार स्ट्राइकर सेमिफाइनलमा

बैतडी : बैतडीको देहीमाण्डौंमा सुरु भएको एबीसी क्रिकेट कप २०८२ को तेस्रो संस्करणअन्तर्गत दोस्रो दिनका खेलहरूमा रोमाञ्चक नतिजा सार्वजनिक भएका छन्।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै स्टार स्ट्राइकर टिमले सेमिफाइनलमा स्थान सुनिश्चित गरेको छ भने अल राउण्डर एभेन्जर्स र जिरो रन जर्नी बीचको प्रतिस्पर्धा पनि निकै रोचक बनेको थियो। पहिलो खेलमा स्टार स्ट्राइकर र अल राउण्डर एभेन्जर्स आमनेसामने भएका थिए। टस जितेर अल राउण्डर एभेन्जर्स ले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्टार स्ट्राइकर ले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १४५ रनको विशाल योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको अल राउण्डर एभेन्जर्स टिम भने १० ओभरमै सबै विकेट गुमाउँदै ६८ रनमै समेटिँदै पराजित भएको थियो। उक्त खेलमा शिवम भट्ट ले १२ बलमा २२ रन र २ ओभर बलिङ गर्दै २ विकेट लिएपछि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो। दोस्रो खेलमा अल राउण्डर एभेन्जर्स र जिरो रन जर्नी बीच प्रतिस्पर्धा भएको थियो।

टस जितेर ब्याटिङ रोजेको अल राउण्डर एभेन्जर्स ले निर्धारित १० ओभरमा १६६ रनको विशाल लक्ष्य तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिरो रन जर्नी ले ५ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सफल भयो। यो खेलमा अल राउण्डर एभेन्जर्स ले २१ रनको अन्तरमा विजय हासिल गर्‍यो।

बल र ब्याट दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बि.सी. ले २ विकेट लिँदै १० बलमा २३ रन जोडेका थिए। उनलाई पनि म्यान अफ द म्याच घोषित गरिएको थियो। तेस्रो खेलमा स्टार स्ट्राइकर र जिरो रन जर्नी भिडेका थिए। टस जितेर ब्याटिङ रोजेको जिरो रन जर्नी ले १० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पछ्याउन उत्रिएको स्टार स्ट्राइकर ले १० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजय हासिल गर्‍यो।

उक्त खेलमा रवि बन्तवा ले ४८ रन र २ विकेट लिँदै म्यान अफ द म्याच घोषित भएका थिए। लगातार दुई खेलमा विजय हात पार्दै स्टार स्ट्राइकर टिम सेमिफाइनलमा प्रवेश गरेको छ। हालसम्म पञ्चचुली युवा क्लब र स्टार स्ट्राइकर गरी दुई टोली क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन्। आयोजकका अनुसार आगामी खेलहरूबाट प्रतियोगिता अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update