
बैतडी : जनताको समस्या, पिरमर्का र हालैको जेन–जी पुस्ताको विद्रोही चेतनाले उत्पन्न सामाजिक परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा ‘नागरिक–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालन गरेको छ ।
नेपाल प्रहरीले जनसुरक्षा र विश्वास सुदृढीकरणका लागि सुरु गरेको यो अभियानले समाजमा प्रहरीप्रतिको धारणा सुधार्ने र नागरिक–प्रहरी सम्बन्धलाई अझ नजिक ल्याउने उद्देश्य सहित नागरिक–प्रहरी साझेदारी कार्यक्रम संचालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ मुस्याचोरमा स्थानीय नागरिकहरु संग संवाद, छलफल तथा सचेतना सत्रहरू सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताए ।
कार्यक्रममा प्रहरी अधिकारीहरूले स्थानीय जनप्रतिनिधि, युवा, महिला, शिक्षक, विद्यार्थी तथा सामाजिक अगुवाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै समुदायमा अपराध नियन्त्रण, लागुऔषध दुरुपयोग, महिला हिंसा, साइबर अपराध तथा सामाजिक असन्तुलनजस्ता विषयमा सचेतना बढाउने कार्य गरेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार रायका अनुसार, “प्रहरी जनताको लागि भएकाले, जनतासँगै छ भन्ने भावना स्थापित गर्न यो कार्यक्रम प्रभावकारी माध्यम बनेको बताइएको छ ।
हाल देशभर युवापुस्ताबीच बढ्दै गएको असन्तोष र विद्रोही सोचलाई संवाद र सहकार्यबाट सकारात्मक दिशातर्फ मोड्नु प्रहरीको जिम्मेवारी रहेको उहाँको भनाइ रहेको छ । कार्यक्रममा सहभागी स्थानीय युवाहरूले पनि प्रहरीको यो पहललाई स्वागत गर्दै, “जेन–जी पुस्ता र प्रहरीबीच संवाद हुनुले गलत बुझाइ हटाउने र नयाँ सोच विकास गर्ने अवसर दिएको” बताएका छन् ।
उनीहरूको भनाइमा, प्रहरीले युवाको आवाज सुन्ने प्रयास गरेकोले स्थानीय स्तरमा आपसी समझदारी र विश्वास बढेको बताइएको छ । नेपाल प्रहरीले पछिल्लो समय ‘नागरिक–प्रहरी साझेदारी’लाई अभियानका रूपमा अघि बढाउँदै आएको छ । यसले अपराध निवारणसँगै सामुदायिक सुरक्षालाई सशक्त बनाउने र नागरिकमा ‘सुरक्षा हाम्रो साझा जिम्मेवारी हो’ भन्ने चेतना जगाउने उद्देश्य राखेको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बलदेव बडुले बताए ।
सामाजिक उत्तरदायित्वका साथ काम गर्ने प्रहरी, जनताको मर्म बुझ्ने प्रहरी र समाजसँगै हिँड्ने प्रहरी बन्ने यात्रामा बैतडीमा सञ्चालन भएको यो साझेदारी कार्यक्रम एक उदाहरणीय पहलका रूपमा लिइएको छ ।