बैतडी - बैतडी जिल्लाका दशैँवटा स्थानीय तहमा गाइ–भैँसीमा लाग्ने खोरेत (Foot and Mouth Disease–FMD) रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन हुने भएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनले जारी गरेको सूचनामा जिल्लाभर खोप अभियान सुचारु हुने भएकाले सरोकारवाला सबै पक्षलाई पूर्ण सहजीकरण गर्न आग्रह गरिएको छ। केन्द्रका अनुसार खोरेत रोग विशेषगरी गाइ, भैँसीलगायत खुरवाला जनावरमा छिटो फैलने, आर्थिक क्षति पुर्याउने र दुग्ध उत्पादनमा व्यापक कमी ल्याउने रोग भएकाले यसलाई नियन्त्रण गर्नु अत्यावश्यक रहेकाले जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने तयारी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी पन्तले बताए ।
सूचनामा तोकिएका भ्याक्सिनेटरहरूसँग समयमै समन्वय गरी खोप केन्द्र निर्धारण गर्न, जनावरधनीलाई जानकारी गराउन तथा खोप अभियान प्रभावकारी बनाउन स्थानीय तह, कृषि शाखा, पशु सेवा शाखा, जनप्रतिनिधि तथा कृषक समूहको सक्रिय भूमिका आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ।
केन्द्रले कृषकलाई आफ्नो गाइ–भैँसीलाई तोकिएको समयमा अनिवार्य रूपमा खोप लगाइदिन आग्रह गरेको छ। समयमै खोप लगाइहाल्दा रोगको संक्रमण रोकथामसँगै जनावरको उत्पादन क्षमता तथा स्वास्थ्य संरक्षणमा ठूलो फाइदा हुने पशु स्वास्थ्य व्यवसायीहरू बताएका छन ।
बैतडीमा नियमित रूपमा सञ्चालन हुने खोरेत खोप अभियान यसपटक अझ व्यवस्थित र समन्वित रूपमा सञ्चालन गरिने बताइएको छ। खोरेत रोगविरुद्धको खोप अभियान यहि मंसिर ५ गतेबाट संचालन हुने स्रोतमा उल्लेख गरिएको छ ।




