बैतडी - बैतडीमा नेपाल टेलिकमले गुणस्तरीय फोरजी मोबाइल नेटवर्क सेवा सुचारु गर्न ढिलासुस्ती र आनाकानी गर्न थालेपछि सेवा ग्राही मारमा परेका छन।
जिल्लाका विभिन्न ठाउँ अझै पनि मोबाइल नेटवर्क पुग्न नसक्दा स्थानीयवासी मोबाइल सेवा अभाव र महँगा दरको दोहोरो मारमा परिरहेका छन्। जिल्लाभर नेपाल टेलिकमले गुणस्तरीय फोरजी सेवा समयमा सुचारु गर्न नसक्दा उपभोक्ताहरू बाध्य भएर एनसेलको महँगो सेवा प्रयोग गर्नुपरेको गुनासो बढेको छ।
नेपाल टेलिकमले लामो समयदेखि फोरजी सेवा विस्तारमा ढिलासुस्ती गर्दै आएपछि फोन कलदेखि इन्टरनेट चलाउनेसम्मका दैनिक काम प्रभावित बनेका छन्। सेवा उपलब्ध नहुँदा सरकारी तथा निजी कार्य, अनलाइन अध्ययन, बैंकिङ सेवा तथा सूचना सम्प्रेषणमा ठूलो अवरोध भएको स्थानीयवासी बताउँछन्। नेपाल टेलिकमले नागरिकका गुनासो टेर्नै छोडेपछि एनसेलले भने पेल्न थालेको छ ।
एक स्थानीयवासीले असन्तुष्टि व्यक्त गर्दै भने, “न टेलिकमको नेटवर्क चल्छ, न नेट चलेर काम हुन्छ। अन्त्यमा महँगो दर तिरेर एनसेल चलाउन बाध्य छौँ। स्थानीयहरुले भन्ने गरेका छन । एनसेलको सेवा लिनेबाहेक विकल्प नभएपछि ग्रामीण बस्तीमा आर्थिक रूपले कमजोर उपभोक्ता अझै मारमा परेका छन्।
दैनिक इन्टरनेट प्रयोग, फोन कल तथा अनलाइन सेवा महँगो भएर सामान्य उपभोक्ताले खर्च थेग्नै नसक्ने अवस्थामा पुगेको स्थानीयहरू बताउँछन्। यसअघि नेपाल टेलिकमले जिल्ला–जिल्लामा फोरजी विस्तार गरिने प्रतिबद्धता जनाएको भए पनि बैतडीमा भने विस्तार कार्य सुस्त हुँदा उपभोक्ताको असन्तुष्टि चुलिएको हो। स्थानीय तहका जनप्रतिनिधिहरूले समेत टेलिकमलाई सेवा सुधारका लागि पटक–पटक आग्रह गरे पनि प्रभावकारी काम नदेखिएको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वीर बहादुर चन्दले बताए ।
उपभोक्ताहरूले यथाशीघ्र बैतडीमा टेलिकमको फोरजी सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रतिस्पर्धात्मक र सहज दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन, सरकार, दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकको ध्यानाकर्षण गराएका छन्।
यता नेपाल टेलिकम दुरसञ्चार कार्यालय बैतडीले भने ४१ वटा साइडबाट अहिले जिल्लामा सेवा प्रवाह गरिरहेको बताएको छ । जिल्लाका कतिपय ठाउँमा अझ प्रभावकारी रुपमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा विस्तार भैरहेको कार्यालय प्रमुख नारायण दत्त भट्टले बताए ।




