Sagun Khabar
आन्तरिक पर्यटनको गन्तव्य बन्दै बागवानी विकास केन्द्र, बैतडी

गोविन्द पन्त बैतडी - बैतडीको दशरथचन्द नगरपालिका–१ सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्र (बागवानी) पछिल्लो समय आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बनेको छ।

हिउँदे वर्षासँगै लामो समयपछि यस क्षेत्रमा हिमपात भएपछि पर्यटकहरूको उल्लेख्य चहलपहल बढेको हो। हिमपातको दृश्य अवलोकन गर्न बैतडीसहित छिमेकी जिल्लाबाट समेत पर्यटकहरू सतबाँझ पुगेका छन्।एकैदिन करिब १ हजार १ सयभन्दा बढी आन्तरिक पर्यटक सतबाँझ क्षेत्र भित्रिएको जनाइएको छ। हिमपात भएपछि हिउँ खेल्ने, फोटो तथा भिडियो खिच्ने, साथै अवलोकन र अध्ययनका लागि आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको स्थानीय व्यावसायी  राजेन्द्र टेरले बताए ।

सतबाँझ क्षेत्र परम्परागत रूपमा स्याउ उत्पादन हुने क्षेत्रका रूपमा चिनिन्छ। यहाँ रहेको सुख्खा फलफूल विकास केन्द्रमा करिब ३ हेक्टर क्षेत्रफलमा फैलिएको नर्सरी सञ्चालनमा रहेको छ। प्राकृतिक सौन्दर्य, चिसो हावापानी र कृषि अनुसन्धानको सम्भावनाका कारण यो क्षेत्र बैतडी जिल्लाको महत्वपूर्ण पर्यटन सम्भावना बोकेको स्थानका रूपमा हेरिँदै आएको छ।

पछिल्लो समय बागवानी विकास केन्द्रको फार्मभित्र स्याउ उत्पादन पुनः सुरु गरिएको छ। केही वर्षअघि अनुकूल जात र मौसमको अभावमा सतबाँझमा स्याउ फल्न छोडेको थियो। तर हाल हावापानी सुहाउँदो उन्नत जातका स्याउका बिरुवा रोपिनुका साथै समयमै हिउँदे वर्षा र हिमपात भएपछि स्याउ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त कार्यालय प्रमुख अर्जुन खडकाले बताए ।

कृषि तथा पर्यटन दुवै दृष्टिले महत्वपूर्ण मानिएको सतबाँझ क्षेत्रको प्रवर्द्धन गर्न सकेमा आन्तरिक पर्यटनसँगै स्थानीय कृषकको आयआर्जनमा समेत टेवा पुग्ने सरोकारवालाहरूको भनाइ छ। प्राकृतिक हिमपात, स्याउ बगैंचा र बागवानी अनुसन्धान केन्द्रलाई समेटेर पर्यटन पूर्वाधार विकास गर्न सके बैतडीको पर्यटन क्षेत्रमा नयाँ सम्भावना खुल्ने देखिएको निमित्त कार्यालय प्रमुख खडकाको भनाइ रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update