गोविन्द पन्त बैतडी - नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा बैतडी सदरमुकाम गोठलापानीमा पत्रकारहरूका लागि एआई (Artificial Intelligence), मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने तालिम आजदेखि सुरु भएको छ ।
माघ १५ र १६ गते सञ्चालन हुने तालिममा सुदूरपश्चिमका चार जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङबाट प्रत्येक जिल्लाका ८/८ जना गरी ३२ जना पत्रकार सहभागी भएका छन् । तालिममार्फत पत्रकारहरूलाई नविनतम प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्दै समाचार संकलन, सम्पादन र प्रसारणलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा डिजिटल पत्रकारिता, एआईको प्रयोगमार्फत समाचार उत्पादन, मोबाइल फोनबाट फोटो, भिडियो र अडियो सामग्री तयार गर्ने सीप, मल्टिमिडिया स्टोरीटेलिङ लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइनेछ । प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले पत्रकारहरूलाई समयअनुसार अद्यावधिक गर्नु आवश्यक रहेको तालिमका प्रशिक्षकहरूले बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीहरूले प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले ग्रामीण क्षेत्रका पत्रकारहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । सहभागी पत्रकारहरूले पनि तालिमबाट प्राप्त ज्ञानले व्यावसायिक पत्रकारितामा नयाँ आयाम थपिने अपेक्षा गरिएको पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडुले बताए ।
प्रदेश स्तरमै पत्रकारहरूको दक्षता बढाउने उद्देश्यले आयोजना गरिएको यो तालिमले सुदूरपश्चिममा आधुनिक, तथ्यपरक र प्रविधिमैत्री पत्रकारिता विकासमा महत्वपूर्ण योगदान पुग्ने पत्रकार महासंघको विश्वास रहेको छ ।




