गोविन्द पन्त बैतडी - बैतडीको पाटन नगरपालिकाले जेनजी समूहका लागि डिजिटल मार्केटिङ तालिम सुरु गरेको छ ।
नगरपालिकाले आज एक कार्यक्रमका बीच ‘युवासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत १३ बर्षदेखि २८ बर्ष उमेर समूहका युवाहरुका लागि डिजिटल मार्केटिङ तालिम सञ्चालन गरेको बताइएको छ । उक्त तालिममा पाटन नगरपालिकाभित्र बसोबास गर्ने र १५ देखि २२ बर्ष उमेर समूहको सामाजिक सञ्जालमा सक्रिय र पहुँच भएको व्यक्ति रहेका पाटन नगरपालिकाका नगर उप - प्रमुख कमल सिँह बोहराले बताए ।
पाटन नगरपालिकाका नगर उप - प्रमुख बोहराका अनुसार तालीममा सहभागीहरुले आफ्नै एन्ड्रोइड मोबाइल वा ल्यापटपबाट तालीम लिने बताइएको छ। तालीम भौतिक र अनलाइन कक्षामा गरि दुई चरणमा हुने छ । तालीममा नगरपालिकाका १० ओटै वडाभित्रबाट ४० जना सहभागी भएका छन ।
तालिममा राज्यबाट सुविधा परिचय पत्र पाएका, रोजागारीको अवसर नपाएका, विदेशबाट फर्किएका युवाहरुलाई प्राथमिकता दिइएको छ। जेनजी समूहका युवाहरुलाई रोजगारीसँग जोड्नका लागि यो तालिम सञ्चालन गरिएको नगरपालिकाका उपप्रमुख बोहराले बताए ।
नवयुवा समूहलाई डिजिटल मार्केटिङसँग जोड्नका लागि यस्तो तालिमको आयोजना गर्ने जिल्लाकै पहिलो पालिका पाटन नगरपालिका भएको नगर उपप्रमुख बोहराको भनाइ रहेको छ । यसले युवाहरुलाई रोजगारीसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ ।




