Sagun Khabar
कोइलाको अभावपछि आरन व्यावसायी निराश

बैतडी - बैतडी सहित सुदुर पहाडका ग्रामीण क्षेत्रका नागरिकको जिविकोपार्जन र कृषि संग प्रत्यक्ष रुपमा जोडिएको आरन पेशामा कोइलाको अभाव भएको छ ।

पछिल्लो समय परम्परागत आरन पेशा आधुनिक प्रविधिसँग तालमेल नखाँदा विस्थापित हुने अवस्थामा पुगेको छ । विशेषगरी कोइलाको अभाव, कच्चा पदार्थको मूल्यवृद्धि र बजार प्रतिस्पर्धाका कारण जिल्लाका आरन व्यवसायी संकटमा परेका छन् । गाउँघरमा कृषि औजार निर्माण तथा मर्मतका लागि अनिवार्य मानिने आरन अहिले विस्तारै संकटमा पर्न थालेको आरन व्यावसायी मनिराम लुहारले बताए ।

बिशेषगरि गाउँ घरमा हलो, कोदालो, खुकुरी, हँसिया, बन्चरो बनाउने काममा आरन अनिवार्य हुने भएपनी कोइलाको अभाव र आधुनिक प्रबिधि संग जोडिन नसक्दा आरन व्यावसायिक र कृषक दुबै मारमा परेका छन । आरन पेशाको मुख्य आधार नै कोइला हो । तर पछिल्ला वर्षहरूमा वन नियम कडाइ, काठको अभाव तथा कोइला उत्पादनमा नियन्त्रणका कारण कच्चा कोइला पाउन मुस्किल भएको स्थानीय आरन व्यावसायी तथा सिगास गाउँपालिकाका कार्यपालिका सदस्य बिमला लुहारले बताए ।

बैतडी, डडेल्धुरा, दार्चुला , बझाङ , बाजुरा, अछाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा कार्यरत आरन व्यवसायीहरूका अनुसार पछिल्लो समय कोइलाको समस्याका कारण काम गर्नै मुस्किल हुने गरेको बताइएको छ । पहिले स्थानीय रूपमा कोइला बनाउन पाइने भएपनी, अहिले अनुमति र स्रोत अभावका कारण समस्या हुने गरेको बताइएको छ । कोइलाको अभाव हुँदा उत्पादन लागत बढ्ने र नाफा घट्ने समस्या देखिएको छ । यसले धेरै आरन व्यवसायी पेशा नै परिवर्तन गर्न बाध्य भएका दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले बताए ।

आरन व्यावसायीलाई एकातर्फ कोइलाको समस्य छ भने अर्कोतर्फ, आरन पेशामा आधुनिक उपकरण तथा विद्युतीय ब्लोअर, ग्यास फर्नेस जस्ता प्रविधिको प्रयोग न्यून छ । प्रविधि अभावका कारण उत्पादन क्षमता सीमित रहँदा बजार प्रतिस्पर्धामा टिक्न गाह्रो भएको जानकारहरूले बताउने गरेका छन ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update