Sagun Khabar
बैतडीमा ४२ वटा स्वास्थ्य संस्था किशोर किशोरीमैत्री प्रमाणीकरण

बैतडी - बैतडीमा ४२ वटा स्वास्थ्य संस्थाहरूलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको छ।

जिल्लामा ब्रथिङसेन्टर सहित १५० वटा स्वास्थ्य संस्था रहेका छन । जसमध्ये ४२ वटा स्वास्थ्य संस्था किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएका हुन । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ९ मापदण्ड र ४५ आधारमध्ये कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेका स्वास्थ्य संस्थाहरूलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिँह कार्कीले बताए ।

किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाले किशोर किशोरीका लागि अलगै कोठाको व्यवस्था भएको, परिवार नियोजनका साधनमा उनीहरूको पहुँच भएको, किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी भएको, गोपनियताको आधारमा सेवा दिने कुराको ग्यारेन्टी गर्ने गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेम सागर भट्टले बताए।

मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थालाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका गर्ने गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ। किशोरावस्थामा यौन तथा प्रजनन् स्वास्थ्य सेवा नपाएकै कारण किशोर किशोरीमा विभिन्न समस्या देखिने भएकाले किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको अवधारणा आएको केन्द्र प्रमुख भट्टले बताए । जिल्लामा स्वास्थ्य संस्था किशोर किशोरीमैत्री भएदेखि आफूहरूलाई सेवा लिन सजिलो भएको किशोर किशोरीहरुले बताउने गरेका छन । किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाबाट आवश्यकताका आधारमा गोपनीयता कायम गरेर सेवा दिने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्टले बताए ।

बैतडीमा ४२ वटा स्वास्थ्य संस्था प्रमाणीकरण भैसकेका छन भने १०८ वटा स्वास्थ्य संस्थाले किशोर किशोरीमैत्री स्वास्थ्य सेवा दिइरहेका छन्। बैतडीमा किशोर किशोरमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष लगायतका संस्थाहरूले सहयोग गर्दै आइरहेका छन्। यौन तथा प्रजनन स्वास्थ्यका विविध स्वास्थ्य सेवा दिने उद्देश्यसहित सरकारले किशोर किशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणा लिएको छ। सोही अवधारणा अनुसार उनीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो होस् भनेर किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update