Sagun Khabar
आलु खेतीबाट आत्मनिर्भर बन्दै बैतडीका किसान, शीत भण्डार नहुँदा समस्या 

बैतडी–बैतडीका किसान आलु खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । जिल्लाको पाटन नगरपालिका–८,९ र १० का किसानहरु लामो समयदेखि आलुखेती गर्दै आएका र यसैबाट मनग्गे आम्दानी गर्न पनि सफल हुँदै आएका छन् । 

आलु खेतीबाट बार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पाटन –८ का किसान केशव बिष्टले बताए । यो बर्ष बेला–बेलामा पानी परेकाले आलु खेती फस्टाएको उनले बताए । 
बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलु खेतीका लागि पकेट क्षेत्रको रुपमा लिइएको छ । यहाँका अधिकांश किसान आलु खेतीसँगै अन्य मौसमअनुसारका तरकारी खेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । 

आलु खेतीबाट हरेक बर्ष आम्दानी हुने गरेको पाटन नगरपालिका–९ की जयन्ती बिजलेले बताइन् । बर्षौं पहिलादेखि आफूहरु तरकारी खेतीमा व्यवसायिक रुपमा लागि रहेको उनले बताइन् । 

बैतडीबाट मात्रै बार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए । आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीत भण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । 

यस क्षेत्रमा एउटा शीत भण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेलधुरा लैजानुपर्ने बाध्यता रहेको बिजलेले बताइन् । 

प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् ।

वर्षौँदेखि अलपत्र अवस्थामा रहेको शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर बिष्टले बताए । बनेका शीत भण्डार सञ्चालन गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनको गुनासो छ ।

पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीत भण्डार सञ्चालनमा आएको छैन् । आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीत भण्डार सञ्चालनमा आउन सकेको छैन् । शीत भण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् । 

शीत भण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए । त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुन सकेको छैन् । साबिकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा बनेको शीत भण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन् । 

विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीत भण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update