बैतडी - बैतडीमा उद्योग तथा वाणिज्य व्यवसाय दर्ता हुने क्रम पछिल्ला वर्षहरूमा घट्दै गएको एक तथ्यांकले देखाएको छ। घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा १२७ उद्योग र ५४ वाणिज्य व्यवसाय मात्र नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउदले बताए ।
कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल ३,६२६ उद्योग र ३,५०३ वाणिज्य व्यवसाय दर्ता भएका छन्। उद्योगतर्फ उत्पादनमूलक, सेवामूलक, कृषि तथा वनजन्य, निर्माण तथा पर्यटनसम्बन्धी उद्योगहरू सञ्चालनमा रहेका छन् भने वाणिज्यतर्फ किराना पसल, स्टेसनरी, भाडाकुँडा पसल, मदिरा तथा अन्य खरिद–बिक्री व्यवसाय दर्ता भएका सूचना अधिकारी साउदले बताए ।
तथ्याङ्कले विगत तीन आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा ४७७ उद्योग र १६३ वाणिज्य व्यवसाय दर्ता भएका थिए। त्यस्तै, २०८०/८१ मा १९१ उद्योग र १७३ वाणिज्य तथा २०८१/८२ मा १३५ उद्योग र ६३ वाणिज्य व्यवसाय दर्ता भएका थिए। चालु आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ। बैतडीको अर्थतन्त्र मुख्यतः कृषि, पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षाअनुसार औद्योगिक विस्तार हुन सकेको छैन। सीमित पूँजी, पर्याप्त पूर्वाधारको अभाव, बजारको सानो दायरा, दक्ष जनशक्तिको कमी तथा युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण उद्योग–व्यवसाय विस्तारका प्रमुख चुनौतीका रूपमा रहेका छन्।
जिल्लामा यातायात, विद्युत्, सञ्चार लगायतका पूर्वाधार विस्तार अपेक्षित गतिमा हुन नसक्दा लगानी आकर्षित गर्न कठिनाइ भएको व्यवसायीहरूको भनाइ छ। अधिकांश उद्योग तथा व्यवसाय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन भइरहेका छन्। यद्यपि स्थानीय सरकार, घरेलु तथा साना उद्योग कार्यालय र विभिन्न संघसंस्थाले उद्यमशीलता विकास, सीपमूलक तालिम तथा सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरिरहेका छन्। यस्ता कार्यक्रमले आगामी दिनमा उद्योग तथा व्यवसाय विस्तार हुँदै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। उद्योग तथा व्यवसाय दर्ता घट्दो प्रवृत्तिलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै लगानीमैत्री वातावरण, बजार विस्तार र उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन आवश्यक रहेको औँल्याइएको छ । बैतडीमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि स्थानीय उद्योग–व्यवसायलाई सुदृढ बनाउनु अपरिहार्य रहेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।





