बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका-१ स्थित डुङरीखानमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरी सामग्री चोरी भएको छ। अज्ञात समूहले टावरमा तोडफोड गर्दै त्यहाँ जडान गरिएका ३ थान सेफ्टी फायर चोरी गरेका धर्मघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पुस्कल चन्दले बताए ।
तोडफोड र चोरीका कारण उक्त टावरबाट प्रवाह हुँदै आएको नेपाल टेलिकमको सेवा पूर्ण रूपमा बन्द भएको छ। टावरमा जडान गरिएका मेसिन सहित तार र भवनमा समेत क्षती भएको बताइएको छ । टेलिकम टावरमा राखिएका मेसिन तार पुर्ण रुपमा नष्ट गरिएका छन भने ३ थान सेफ्टी फायर चोरी गरिएका प्रहरी सहायक निरीक्षक चन्दले बताए ।
चोरी र तोडफोडभए पछि पञ्चेश्वर क्षेत्रका स्थानीय बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन्। प्रहरी स्रोतका अनुसार तोडफोड र चोरीपछि टेलिकम टावरमा करिब १३ लाख बराबरको क्षति भएको आकलन गरिएको छ । घटनापश्चात् तोडफोड र चोरीमा संलग्न व्यक्ति वा समूहको तीव्र रूपमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिसकेको र दोषीलाई चाँडै नियन्त्रणमा लिइने बताएको छ। यस्तै, बन्द भएको टेलिकम सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन, आवश्यक मर्मत सम्भारको काम अघि बढाउन स्थानीय नागरिकले सम्बन्धित पक्ष संग आग्रह गरेका छन ।





