Sagun Khabar
थाल बजाएर रातकाट्न बाध्य बैतडीका स्थानीय

बैतडी - बैतडीमा जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछी स्थानीय किसान थाल बजाएर रातकाट्न बाध्य भएका छन ।

मकैबाली जोगाउन किसानहरू रातभर जाग्राम बसेर थाल ठोक्ने, आगो बाल्ने तथा होहल्ला गर्ने जस्ता उपाय अपनाउन बाध्य भएका हुन । तर पनि जङ्गली जनावरको आतंक रोकिएको छैन । वर्षौंदेखिको यो समस्याबारे स्थानीय सरकार तथा सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कुनै दिगो समाधान र राहतको व्यवस्था नभएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का स्थानीय प्रकाश भट्टले बताए ।

बैतडी जिल्लामा जंगली जनावरले मकैबाली सखाप पार्न थालेपछि चिन्तित बनेका स्थानीय  रातदिनको मेहनत र पसिना चुहाएर उमारेको मुख्य खाद्यान्न बाली मकै जंगली जनावरले सखाप पारिदिएपछि खेतिपाती कसरी जोगाउने भन्ने कुराले पिरोलिएका छन । जिल्लाका सबै जसो स्थानमा बाँदर, दुम्सी र बँदेल लगायतका जंगली जनावरको आतङ्क बढेपछि किसानहरूलाई बाली जोगाउन धौ-धौ परेको दशरथचन्द नगरपालिकाका स्थानीय सुनित भट्टले बताए ।

विशेष गरी जिल्लाको दशरथचन्द नगरपालिका , पाटन नगरपालिका , पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका जङ्गली जनारको उच्च जोखिममा रहेका कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।  बैतडीका धेरैजसो ठाउँमा जंगली जनावरको समस्या विकराल बनेको छ। बारीमा पाक्न र घोगा हाल्न थालेको मकै रातको समयमा बँदेल र दुम्सीले सखाप पार्ने गरेका छन भने  दिउँसोको समयमा बाँदरको हुलले नष्ट गर्ने गरेको सुर्नया ३ का स्थानीय नारद भट्टले बताए ।

बैतडीका धेरै जसो ठाउँमा वर्षभरि खान पुग्ने मुख्य बाली मकै जंगली जनावरले एकै रातमा नष्ट गरिदिन्छन्। दिउँसो बाँदर र राति बँदेल धपाउनैमा समय बित्ने गरेको किसानहरुको भनाइ रहेको छ । यस्तै अवस्था रहे आगामी दिनहरुमा भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने सुर्नया गाउँपालिका ६ का स्थानीय पुस्पराज अवस्थीले  बताए ।

स्थानीय किसानका अनुसार पछिल्ला केही वर्षयता जंगली जनावरको संख्या वृद्धि हुनुका साथै गाउँघरमा मानिसको उपस्थिति पातलिँदै जाँदा जनावरको आतङ्क झन् बढेको बताइन्छ । किसानहरूले बालीनालीको सुरक्षाका लागि घेराबारको व्यवस्था, क्षतिपूर्तिको राहत प्याकेज तथा जंगली जनावर व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्। समयमै यो समस्याको समाधान नभए खेतीपाती नै छाड्नुपर्ने बाध्यता आउने किसानहरूको भनाइ रहेको छ।

कृषि ज्ञान केन्द्र बैतडीका अनुसार बैतडीमा जिल्लामा करिब १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ। हाल बैतडीमा मकै जोन कार्यक्रम समेत लागू गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update