बैतडी –सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि आइतबार ल्याएको बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दशरथचन्द नगर कमिटि अध्यक्ष गोपाल बोहराले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य समेत रहेका बोहराले पार्टीको साधारण सदस्य समेत नरहने गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीको नेतृत्वमा सरकार भएको बेला समेत नागरिकमैत्री बजेट नआएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका हुन् ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं घर भएका बोहरा २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।
पार्टी सरकारमै रहेको बेला बजेटमा जनताका योजना नसमेटिनु दुखद पक्ष रहेको भन्दै उनले पार्टीमा लागिरहनुको औचित्य सकिएको बताए । उनले भने, ‘राजनीति जनताका लागि गर्ने हो । पार्टी सरकारमा भएका बेला जनताका माग सम्बोधन हुँदैनन् भने पार्टीमा लागिरहनुको औचित्य के छ ?’
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बोहराले अब आफू स्वतन्त्र रुपमा नागरिकका समस्या उठान गरिरहने उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार ल्याएको बजेटप्रति सत्तारुढ दलकै नेता–कार्यकर्ताहरुमा असन्तुष्टि देखिएको छ ।




